
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डाको विषयमा लगभग सहमति भएको छ। दुई दलका नेताहरूबीच भएको अनौपचारिक छलफलमा चार–चार वटा मन्त्रालय राख्ने सहमति भएको छ।
एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउने छन्। तर कांग्रेसले कुन–कुन मन्त्रालय पाउने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रले छाडेका तीन वटा र आफूसँग रहेको कृषि मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन्। कांग्रेसले भने माओवादी केन्द्रले छाडेको बाहेक आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने माग राखेको छ।
यस विषयमा औपचारिक छलफल शनिबार काठमाडौंमा हुने भएको छ। कांग्रेसले आलोपालो नेतृत्वको माग गरेको र लिखित सहमतिको प्रस्ताव राखेको छ। तर मुख्यमन्त्री कार्की लिखित सहमति गर्न तयार नदेखिएको बताइएको छ। कांग्रेस र एमाले दुवै पक्षले मन्त्रालय भागबण्डामा ठूलो असमझदारी नरहेको बताएका छन्। तर आलोपालो नेतृत्वको विषय केन्द्रीय नेतृत्वले हेर्नुपर्ने एमालेको भनाइ छ। अब हुने औपचारिक छलफलपछि यी विषयहरूमा अन्तिम निर्णय हुने छ।
