
पूर्णपुष्टि, असोज १५ । बुधबारदेखि कोशी प्रदेशमा दुई दिन लगातार वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशमा पनि केही प्रभाव पर्ने देखिन्छ ।
हावापानी विज्ञ डा. धर्मराज उप्रेतीले काठमाडौं उपत्यकामा मंगलबार अपराह्नदेखि नै वर्षाको प्रभाव देखिन सक्ने बताए । उनका अनुसार अघिल्लो वर्षाले कमजोर बनाएको भूमिमा हल्का वर्षा हुँदा पनि पहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ । महाशाखाले यस वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले पनि हल्कादेखि मध्यम खालको वर्षाको संकेत गरेका छन् । भारत मौसम विज्ञान विभागले आसाम र मेघालय क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ भने इन्डियन स्याटेलाइट तस्बिरमा कोशी प्रदेशमा बादलको ठूलो जमघट देखिएको छ ।
