
पूर्णपुष्टि, कार्तिक २३ । कोशी प्रदेश अन्तर्गतका अस्पतालहरु मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित भएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक बर्ष २०७९÷०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा प्रदेश भरीकै अस्पालमध्ये जिल्ला अस्पताल उदयपुरलाई उत्कृट घोषित गरेको हो । जिल्ला अस्पताल उदयपुर प्रदेश भरकै उत्कृष्ट भएसँगै बुधबार बिराटनगरमा आयोजित एक कार्यक्रमको बिच पुरस्कृत भएको हो ।
जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गरेका थिए । डा. ज्ञानेन्द्र झाका अनुसार जिल्ला अस्पतालको गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, सरसफाई लगायतका विभिन्न सूचकको आधारमा उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।
पछिल्लो समय जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय सेवा पाउन थालेपछि उदयपुर लगाएत छिमेकी जिल्लाका नागरिक समेत उपचारका लागी आउने गरेका छन् । विगतमा लामो समय सम्म चिकित्सक अभाव हुदाँ सन्तोषजनक सेवा दिन नसक्दा जिल्ला अस्पताल प्रति स्थानिय नागरिकहरुमा वितृष्णा जाग्ने गरेको थियो ।
जिल्ला अस्पतालमा इमरजेन्सी सेवा संगै प्रसुती, बालबालिका, हाडजोर्नी लगायत विशेषज्ञ सेवाहरु जिल्ला अस्पतालमै पाउन थाले पछि स्थानिय नागरिकहरु पनि जिल्ला अस्पताल उदयपुर प्रति आकर्षित हुन थालेको नागरिकहरु बताउछन् । १४ जिल्ला रहेको कोशी प्रदेशमा मुल्यांकनको आधारमा ताप्लेजुङ जिल्ला अस्पताल दोस्रो भएको छ भने सोलुखुम्बु जिल्ला अस्पताल तेस्रो भएको छ ।
