
पूर्णपुष्टि, जेष्ठ २६ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले बिभिन्न उपकरण दिएर सहयोग गरेको छ ।
बिहिबार कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयबाट भेन्टिलेटर, अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग पाएको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए । कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू) ले उक्त उपकरण समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नु भएको हो ।
उपचार केन्द्रलाई अति आवश्यक रहेको एक थान एम्बुलेन्स सहयोग उपलब्ध गराउन स्वास्थय मन्त्रालयले तत्काल पहल गर्ने बताउँदै ‘मन्त्री मेन्याङ्बाल भने’ कोशी प्रदेश भित्र सञ्चालनमा रहेका सबै अस्पताहरुको सुधार गर्ने योजना प्रदेश सरकारको रहेको बताए । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरिन् ।
२०६८ साल भदौ १७ गतेबाट सञलनमा ल्याईएको यस सर्पदंश केन्द्रमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको सेनाका सहसेनानी डा मनिष यादवले जनाए । पछिल्लो ४ बर्षको अवधिमा क्रमश स् २०७६ सालमा २ सय ९६ जना, २०७७ सालमा ३ सय ७३ जना, २०७८ सालमा ४ सय २६ जना र २०७९ सालमा ४ सय २५ जनालाई उपचार गरी निको बनाएर घर फर्काईएको यादवले बताए ।
