Thursday, May 21News That Matters

कोशी प्रदेश सरकारबाट बाहिरने माओवादी

पूर्णपुष्टि, जेष्ठ २३ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरने भएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरने निर्णय गरेको हो ।

बैठकले नेकपा एमाले नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । आजकै मितिबाट समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरुलाई बोलाउने निर्णय भएको र माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाईएको उनले बताए ।

प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पार्टीबाट निर्णय भईसकेको र अब संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने जानकारी दिए । कोशी प्रदेशमा माओवादीबाट मन्त्रीमा दुर्गा चापागाई र जीवन आचार्य रहेका छन् । चापागाई भौतिक पूर्वाधार र आचार्य पर्यटन वन तथा वातावरण मन्त्री हुन् ।