
पूर्णपुष्टि, साउन ११ । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। यसका साथै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ।
‘हामी आज सरकार छाड्छौं,’ भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले भने, ‘मुख्यमन्त्रीलाई राजीनामा बुझाउँछौं ।’ कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट चार जना मन्त्री रहेका थिए। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट बाहिरिएपछि समर्थन पनि फिर्ता लिने बताए। यो कदमले नेपाली कांग्रेसलाई सरकारमा प्रवेश गर्ने बाटो खोलेको छ। मुख्यमन्त्री कार्कीले कांग्रेसलाई नौ मध्ये चार मन्त्रालय दिने तयारी गरेका छन्।
सत्ता समीकरणको यो नयाँ घटनाक्रम केन्द्रमा भएको सत्ता परिवर्तनको परिणाम हो। यद्यपि, केन्द्रमा सत्ता परिवर्तन भए पनि माओवादी केन्द्रले यसअघि नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन। यसैबीच, भागबण्डाका लागि आज कांग्रेस र एमालेका नेताहरूको बैठक बस्दैछ। स्मरणीय छ, हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए। यद्यपि, यो नियुक्तिविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरे पनि पूर्णपाठ अझै आएको छैन।
