
पूर्णपुष्टि, साउन ११ । गत आइतबार जुलाई २१, २०२४ मा विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन गरियो, जसले पृथ्वीको इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। कपर्निकल क्लाइमेट चेन्ज सर्भिसका अनुसार यो तापमानले १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडेको छ।
यो वृद्धि गत वर्षको उच्चतम तापमानभन्दा मात्र ००.१ डिग्री सेल्सियस बढी भएतापनि, यसका परिणामहरू गम्भीर हुने अनुमान गरिएको छ। विश्वका धेरै भागहरूमा हिटवेभ र डढेलो जस्ता समस्याहरू देखा परिरहेका छन्। दक्षिण अमेरिका भयानक गर्मीसँग जुधिरहेको छ भने चीनमा भारी वर्षा र बाढीले कहर मच्चाइरहेको छ। उत्तरी अफ्रिकामा तापमान ५० डिग्री सेल्सियससम्म पुगेको छ।
वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिहरू र अल निनोको प्रभाव यस तापमान वृद्धिका प्रमुख कारकहरू हुन्। हरेक वर्ष जीवाश्म इन्धनको दहनबाट ४० अरब टन कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको छ, जसले वायुमण्डल तताइरहेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यस स्थितिलाई गम्भीर चुनौतीको रूपमा लिँदै विश्वभरका मानिसहरूलाई जलवायु परिवर्तनको सामना गर्न कम्मर कस्न आह्वान गरेका छन्। उनले भने, “अरबौं मानिसहरूले अत्यन्त गम्भीर गर्मीको सामना गरिरहेका छन्। घातक तातो लहरका कारण अवस्था झन् भयावह भइरहेको छ।”
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को एक नयाँ रिपोर्टले विश्वभर शारीरिक श्रम गर्ने करिब ७० प्रतिशत व्यक्तिहरू अत्यधिक गर्मीको चपेटामा परेको देखाएको छ। विशेषगरी गरिब, मजदुर, गर्भवती, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू यस स्थितिबाट बढी प्रभावित भएका छन्।
यस बढ्दो गर्मीले आर्थिक क्षेत्रमा पनि गम्भीर असर पार्ने अनुमान गरिएको छ। विश्व अर्थतन्त्रमा सन् २०३० सम्ममा २.४ ट्रिलियन डलरको नोक्सान हुने अनुमान छ। वैज्ञानिकहरूले जुलाईको अन्त्य वा अगस्टको सुरुमा तापमानले अझै नयाँ रेकर्ड कायम गर्न सक्ने चेतावनी दिएका छन्।
