Wednesday, May 20News That Matters

कोशी सहित तिन प्रदेशका चार मुख्य सडक पूर्णरुपमा अवरुद्ध

पूर्णपुष्टि, साउन १० । बाढी पहिरोका कारण कोशी सहित तिन प्रदेशका मुख्य चार सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कोशी, कर्णाली र बागमति प्रदेशका मुख्य चार राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएका छन् भने केही सडकहरू एकतर्फी मात्र सञ्चालनमा आएका छन् ।

कोशी प्रदेशको संखुवासभाको भोटखैला गाउँपालिका–४ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । यो कर्णाली प्रदेशको मुख्य यातायात मार्ग हो जसले भारतीय सीमादेखि चीन सीमासम्म जोड्छ ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । यो सडकखण्ड कर्णाली प्रदेशको दोस्रो मुख्य यातायात मार्ग हो । बाढी आएपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीको बिहान साढे १० बजेसम्मको अद्यावधिक तथ्यांक अनुसार काठमाडौं–नुवाकोट सडकस् काठमाडौंको टोखा–२ स्थित सडकखण्डमा पहिरोका कारण समस्या भएको छ । बागलुङ र नवलपरासी पूर्वको सडकखण्डमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी यातायात मात्र सञ्चालन भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने सबै ठाउँको सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।