Monday, April 20News That Matters

क्यान्सरको उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन, स्वदेशमै गुणस्तरीय क्यान्सर उपचार सेवा

पूर्णपुष्टि,फागुन १७

स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने उद्देश्यले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएको छ । अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । नेपालीहरुले क्यान्सरको उपचार समयमै नपाएर अकालमै ज्यान गुमाउनु पर्दैन समस्या समाधान भएको छ । क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो ।

यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा रु ६०० करोडको लगानीमा क्यान्सर उपचार सेवाका लागि आवश्यक आधुनिक पूर्वाधार तयार भएको हो । निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो सो क्यान्सर अस्पताल रहेको दाबी गरिएको छ । अब क्यान्सर उपचारका लागि विदेश धाउनु पर्दैन, ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ मा गुणस्तरीय सेवा सुलभरुपमा उपलब्ध गराइरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताउनुभयो ।

“यो क्यान्सर उपचारका लागि  सेवा दिने अवसर हो, सेवामा केही कमी रहँदैन । उपकरण उही हो, ज्ञान उही हो ।  अमेरिका तथा भारत गए पनि पाउने सुविधा यही हो ।” अस्पतालका कार्यकारी  निर्देशक प्रसाईंले बताउनुभयो । ‘मुस्कुराउँछ नयाँ जीवन…’ भन्ने नाराका साथ गत वर्षदेखि सो अस्पतालले आफ्नो सेवा थालनी गरेको थियो । यसबाट पूर्वाञ्चल क्षेत्रलगायत नेपालबाट  क्यान्सर पहिचान तथा उपचार गर्न भारत तथा अन्यत्र देश जानुपर्ने अवस्थासमेत अन्त्य भएको उहाँले बताउनुभयो ।

तीन सय श्ययाको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका आगि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको प्रसाईले जानकारी दिनुभयो । गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ । अस्पतालमा  पेट स्क्यान, एमआरआइ, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।  पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । शरीरभित्रमा ट्युमरका क्यान्सरका सेल पहिचान गर्न क्याथल्याब उपकरणको सहायता लिइने गरिन्छ । ‘पेट सिटीलाई  आई अफ अङ्कलोजी’ भन्ने गरिन्छ । यो उपकरण काठमाडौँ उपत्यका बाहिर पहिलोपटक अस्पतालले सञ्चालमा ल्याएको छ । सरकारले  हालसम्म आफ्ना अस्पतालबाट पेट सिटी सेवा उपलब्ध गराउन सकेको छैन । यसले क्यान्सर रोग पहिचान र उपचार गर्न कोशेढुङ्गाका रुपमा काम गर्छ ।

नेपालमा बर्सेनि विभिन्न प्रकारका क्यान्सरबाट मात्र १५ हजारभन्दा बढीको अकालमा मृत्यु हुने प्रक्षेपण विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । क्यान्सर पहिचान भई उपचारबाट ३० प्रतिमात्र जोगिएका छन् । सत्तरी प्रतिशतको  अकालमा मृत्यु हुने गर्दछ ।