
पूर्णपुष्टि, साउन २३
खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई प्रहरीले पक्राउ गरेको हो । कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट चारै जनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुले बाख्राको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रासहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।
यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १३ मुर्लीका २८ वर्षीय रोज अन्सारीलाई जिल्ला प्रहरी कार्यालय विरगञ्जले पक्राउ गरेको हो ।
