
राजेन्द्र दुष्ट
बेल्टार/मंसिर २२ गते ।
चौदण्डीगढी नगरपालिका–९ अजगरामा खानेपानीको शिलान्यास भएको छ । नगर प्रमुख खगेन्द्र राई र नगर उप–प्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्तरुपमा शिलान्यास भएको हो ।
चालु आर्थिक वर्ष नगरले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि खानेपानीको शिलान्यास भएको हो । स्थानीयलाई खानेपानीको सहज बनाउनका लागि खुदि खोलामा मुहान रहनेछ ।
जिल्ला खानेपानी तथा सरसफाई कार्यालय उदयपुरले एउटा (ईन्टेक) बनाई दिने र ५ किमिसम्म पाईप खरीद गरिदिएर स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउने नगरप्रमुख राईले बताउनुभयो ।
उक्त खानेपानी स्थानीय टोलविकास समितिका अध्यक्ष टिकाराम भट्टराई र खानेपानी उपभोक्ता समितिका अध्यक्ष पवन कार्की लगायत स्थानीय वुद्धिजिबी सरोकारवालाहरुको सक्रियतामा खानेपानी व्यवस्थित हुन लागेकोे अध्यक्ष कार्कीले बताउनुभयो ।
बालमुखी आधारभूत विद्यालयका विद्यार्थीलाईसमेत मध्यनजर गर्दै १ सय ५ घर संख्यामा रहेका उपभोक्ताहरुले वस्ति देखि ५ किलोमिटर टाढाबाट खानेपानीको मुहानबाट खानेपानी ल्याउन पहल भएको स्थानीयहरुले बताएकाछन् । स्थानीयले ट्युबेलबाट खानेपानी प्रयोग गर्दा पानी रातो रंगको आईरन आउने भएकोले खानेपानीको माग गरिएको स्थानीयले बताए ।
