Wednesday, June 3News That Matters

खुकुरी प्रहार गरी एक युवकको हत्या

पूर्णपुष्टि, वैशाख ३

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा एक युवकको हत्या भएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सोलुखुम्बु घर भइ मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षको ईश्वर राईको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

विहीबार दिउँसो ४ बजे एउटा युवकको हत्या भएको र हत्या गर्ने व्यक्ति भाग्दै गरेको छ भन्ने सूचना आएपछि प्रहरी बृत्त जगातीबाट गएको प्रहरी टोलीले अभियुक्तलाई तत्कालै पक्राउ गरको थियो ।

मृतक राई,आशिष खुलाल, महोत्तरी जिल्ला घर भइ मनोहरा सुकम्बासी बस्ती तिर बस्ने युनिस योञ्जन र सुनिल बलसँग सिपाडोल गएको प्रहरी अनुसन्धानमा खुलेको छ । खुलाललाई भेटेर गाई फर्मको टहरा भित्रबाट चुकुल लगाएर चारै जना व्यक्तिहरु बसी कुराकानीको क्रममा वादविवाद भई झै–झगडा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

झगडाको क्रममा खुलालले कोठामा भएको खुकुरीले ईश्वर राईलाई प्रहार गर्न थाले पछि योञ्जन र बल झ्यालबाट भाग्न सफल भएको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । राईको घटनास्थलमा नै ज्यान गएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

राईको हत्या गरेको आरोपमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार स्थायी घर भई सूर्यबिनायक नगरपालिका–८ सिपाडोल गाई पालन गर्ने गोकुल बहादुर खुलालका २० वर्षीय छोरा आशिष खुलाललाई पक्राउ गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।