Monday, June 22News That Matters

खोटाङका कांग्रेस सभापतिद्वारा पत्रकारलाई धम्की

पूर्णपुष्टि, चैत २५ ।

कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउनु पर्ने अवस्थामा मिडिया क्षेत्रले आफ्नै भूमिका निर्वाह गरिरहेको बेला खोटाङमा एक पत्रकारलाई एक जिम्मेवार व्यक्तिले धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ, शाखा खोटाङको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रभाव न्यूज डडकमका पत्रकार उत्तम चौलागाईलाई नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेशकुमार श्रेष्ठले धम्क्याएको भन्दै महासंघ शाखाले आज विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण जनाएको हो ।

महासंघ खोटाङ शाखाका सचिवसमेत रहेका चौलागाईलाई खोटाङको दुर्छिमस्थित खानीडाँडामा क्वारेन्टाइन राख्न सभापति श्रेष्ठको अवरोध भन्ने खबर लेखेको भन्दै धम्क्याएको विज्ञप्तीमा उल्लेख छ ।

श्रेष्ठले “भेटघाटमा राम्रै चिनजान हुन्छ, पैसामा विकेर समाचार लेखेको, यसले ज्यान पनि जानसक्छ” भन्दै धम्क्याएको पत्रकार चौलागाईले बताएका छन् ।

एक जिम्मेवार व्यक्तिबाटै आएको यस्तो धम्कीको भत्सर्ना गर्दै महासंघ शाखाले पत्रकारको सुरक्षाको मागसमेत गरेको छ । शाखा अध्यक्ष दमन राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार सुरक्षाको माग गर्दै निर्वाद, स्वतन्त्रपूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसमक्ष माग गरिएको छ ।