Monday, May 18News That Matters

खोटाङमा भरुवा बन्दुक राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

पूर्णपुष्टि, साउन १३

खोटाङ भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । एउटै गाउँका तीन जनाको घरबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित खरखजना बरामद गरिएपछि उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाही प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।

वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ । अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको स्थानीय बासिन्दाले जनाएका छन् ।

वडा सदस्यको भरुवा बन्दुकको अनुमति पत्र वि.सं. २०७२ सालसम्म नवीकरण गरेको स्रोतले जनाएको छ । जिल्लामा अधिकांश स्थानीय बासिन्दाले प्रयोग गर्ने भरुवा बन्दुक बिना अनुमतिका रहेको स्रोतको दाबी छ ।