
पूर्णपुष्टि, साउन १३
डाँका मुद्दामा फरार रहेका एक प्रतिवादी तीन महिनापछि पक्राउ परेको छ । धनुषा विदेह नगरपालिका–८ ठाडीबाट ४० वर्षीय चन्दन पासवान पक्राउ परेको हो ।
२०७७ चैतमा चन्दन समेत मिलेर सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी ब्यवसायी राजेश सारडालाई कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटेर भागेका थिए । सो घटनामा संलग्न पासवानलाई प्रदेश–२ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरी मातहतको टोलीले मंगलबार पक्राउ गरेको हो । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी इलाका प्रहरी कार्यालय लहानमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पासवानले यसअघि २०६७ मा रुपन्देहीको तत्कालिन चिल्हिया गाविस–६ स्थित फत्तेसिंह राणा र उत्तरकुमार श्रेष्ठको घरमा पनि डकैती गरेर भागेका थिए । महोत्तरी प्रहरीमा पनि उनीविरुद्ध डाँका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।
