
पूर्णपुष्टि, जेष्ठ २९ । गएराती बर्षात हुँदा किसानलाई राहत मिलेको छ । सुख्खा खडेरी लागि रहेको बेलामा शनिबार राती बर्षात भएपछि केहि राहत मिलेको किसानहरु बताउछन् ।
सुख्खा खडेरी लागेपछि उदयपुरमा मकैबाली सुक्दैजाँदा किसानहरु चिन्तित बनेका थिए । केहि दिन यताको सुख्खा खडेरीले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा लगाईएको मकैबाली मर्न थालेको थियो । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतमा लगार्ईएको मकैका बोट मर्न थालेको थियो ।
खैराहाका किसान विष्णु कार्कीले आफ्नो झण्डै एक बिघा रहेको खेतमा लगाएको मकैबाली खडेरी लागेपछि पातसहित मकैको बोट मर्न थालेको बताएका थिए भने यसपालिको मकैबाली खान नपाईने उनको गुनासो थियो ।
त्यस्तै पोर्ताहका किसान देवीलाल चौधरीले आफ्नो खेतमा लगाएको मकैबाली खडेरीका कारण अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट सुकेको उनले बताएका थिए । मकैको बोट खडेरीले मर्न थालेपछि कतिपय किसानले बोरिङ र घरको कलको मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेका थिए भने घरभन्दा टाढाको खेतमा मकैबाली लगाएका किसानको मकैको बोट सुकेर मर्न थालेको उनले बताएका थिए । जोगिदहका किसानका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मरेपछि मेहनत गरेको खडेरीले लगेको भन्दै निराश बनेका थिए ।
