
पूर्णपुष्टि, जेष्ठ ४
कोरोना संक्रमणका कारण सप्तरीका एक गर्भवती उपमेयरको ज्यान गएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी ४० वर्षीया उपमेयर आशा चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनमा दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको ज्यान गएको हो ।
