
पूर्णपुष्टि, फागुन १३ । धनकुटामा एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसार पसार गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको हो । धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएसँगै प्रहरीले चालक चेललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा गाँजा सहित पक्राउ परेका चालकमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
