Tuesday, June 9News That Matters

गाईघाटमा बन्यो किराती सामुदायको संस्कृतिमा आधारित “चिण्डोपोखरी”

पूर्णपुष्टि, माघ ६
किराती समुदायको संस्कार संस्कृतिमा आधारित चिण्डो पोखरी गाईघाटको साकेला टोलमा निर्माण भएको छ । किराँत राई समुदायको सांस्कृतिक महत्व बोकेको चिण्डो (राई चामलिङ भाषामा वाबु) आकारमा यहाँ पोखरी निर्माण भएको छ । यहाँका किराँत राई समुदायले यसको नामाकरण “चिण्डोपोखरी” भनेका छन् ।
जिल्लाभरका किराँत राई समुदायले मुख्यरुपमा साकेला मनाउने सांस्कृतिक थलो त्रियुगा नगरपालिका ११, साकेलाटोल स्थित साकेलाथानमा चिण्डो्पोखरीको निर्माण गरिएको हो । सम्भवत देशकै पहिलो चिण्डोपोखरी यहाँ निर्माण भएको अनुमान यहाँका राई समुदायको छ ।


हरेकवर्ष उभौली (साकेला) पर्वमा बृहद तथा खुल्ला साकेला प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा १ नं. प्रदेशभर र काठमाडौंबाट समेत साकेलाटोली सहभागि बन्ने गर्छन् । सो स्थानलाई चिण्डोपोखरीले थप आकर्षणको केन्द्र बनाएको छ । “चिण्डोले किराँत राई समुदायको सांस्कृतिक महत्व गहनढंगले बोकेको छ” भाषाविद् डा. कैलाश राईले भन्नुभयो “यहि कुरालाई मध्येनजर गर्दै यहाँ चिण्डोपोखरी निर्माण गरिएको हो ।”
किराँत राई यायोक्खा उदयपुरका पूर्व अध्यक्ष विमल किराँतीका अनुसार साकेलो टोलीहरुले सानादेखि कृतिमरुपमा निर्मित ठूला चिण्डोसमेत बोकेर प्रदर्शनीमा आउने गरेका छन् । त्यसैबाट चिण्डोपोखरी बनाउने धारणा जन्मेको हो । सांस्कृतिक पहिचान र भाव बोकेको चिण्डोको प्रचारका लागि पनि चिण्डोपोखरी निर्माण भएको हो ।
चिण्डो एक प्रकारको लहरे बनस्पतिबाट फल्ने फलफुल जात हो । यो खान मिल्दैन तर, किराँत राई समुदायका लागि सांस्कृतिक कार्यमा नभइ नहुने कुरा हो । विवाह, कुलपुजा, चिन्ताबस्दा, साकेला जस्ता महत्वपूर्ण कार्यमा चिण्डो अनिवार्य हुन्छ । चिण्डोमा अदुवा र जाँड राखेर पवित्र जलको रुपमा चुला, पितृ र प्राकृतिक देवतालाई सम्झेर पर्छिने गरिन्छ ।


पोखरी निकै फराकिलो भएपनि ठ्याक्कै चिण्डोको आकारमा निर्मित छ । चिण्डोको स्वरुप दक्षिणबाट उत्तरतर्फ फर्किएको छ । चिण्डो पोखरीलाई फलामे घेराले सुरक्षित पारिएको छ । मानिसहरु त्यस वरिपरि घुम्ने र बस्ने गरेका छन् । चिण्डोपोखरी पुग्ने जो कोही फोटो खिच्ने, सेल्फी खिच्ने गर्छन् । त्यहाँ हरदम पानी आफै जम्छ । पोखरीमा माछा पनि लगाइएको छ । माछाले पनि पोखरीको आकर्षण थपेको छ । राई समुदायमा चिण्डोको संरक्षण नहुँदा लोप हुदै गएको छ । गाउँघरमा प्रशस्त पाइने चिण्डो आजभोली यदाकदा मात्र पाइन्छन् । सहरबजारमा त विउसम्म पाइदैन । चलनचल्तीका लागि सहरतिर गाउँबाट जोहो गरेर ल्याउने गरिएको छ । चिण्डो नपाउदा कतिपय ठाउँमा वियरको सिसाको बोतल र पेप्सी जस्ता प्लाष्टिकका बोतलको प्रयोगसमेत थालिएको छ तर, यो सांस्कृतिक महत्वको हिसावले राम्रो मानिदैन । “चिण्डो भएजस्तो बोतलको महत्व हुदैन” राई बयोबृद्ध जीतमान राईले भन्नुभयो “सकेसम्म चिण्डोको संरक्षण गरेर चिण्डो कै प्रयोग राम्रो हो ।” कतिपयले भने चिण्डोको सट्टा बोतल प्रयोगलाई समय अनुरुप परिस्कृत ब्यवहार मानेका छन् ।


किराँत राई यायोक्खा त्रियुगा नगर कमिटिको संरक्षणमा रहेको सो पोखरी यहाँका राई समुदायको पहलबाट पर्यटन मञ्त्रालय, त्रियुगा नगरपालिका र विभिन्न ब्यक्तिहरुको सहयोगबाट निर्माण भएको हो । पोखरीसंगै त्यहाँ सुम्निमा र पारुहाङ्को छुट्टा–छुट्टै निर्माणका लागि स्तम्भ खडा गरिसकिएको छ । दुई मुर्तीको बीचमा ठूलो चिण्डो पनि राख्न स्तम्भ खडा गरिसकिएको छ । यसैवर्ष ती सिमेन्टको स्तम्भहरुमा सुम्निमा, पारुहाङ र चिण्डोको मुर्ती राखिने जनाइएको छ ।
यसकासाथै सकेलाथान पर्खालले घेराबेरा गरी साकेलापार्कको रुप दिइएको छ । त्यहाँ मछामा (तीनचुला) घर, साकेला पुजा, सिकारी पुजा गर्ने ठाउँ विशेष संरक्षणका साथ बनाइएको छ भने साकेला नाच्ने ठाउँ, विभिन्न सांस्कृतिक कार्यक्रम, छलफल तथा गोष्टि भवन पनि बनाइएको छ । समुदायमा सांस्कृतिक चेतना बढेसंगै बर्षौदेखिको सामुहिक प्रयास, पहल र कदमहरुको परिणामस्वरुप त्यहाँ सांस्कृतिक थलो स्थापना सफल भएको छ ।
साकेलाथानलाई सांस्कृतिकसंगै धार्मिक थलोको रुपमा मान्दै बरपिपल रोप्ने, विश्रामस्थलहरुको निर्माण गर्ने गरिएको छ । मृतक आफन्त तथा अभिभावकहरुको नाममा परिवारजनले आप्mनो खर्चमा चौतारी निर्माण गर्ने गरेका छन् । त्यहाँ अझ पनि पूर्वाधार निर्माण, बोटविरुवा, फुलबगैचा निर्माण जस्ता महत्वपूर्ण कामहरु बाँकी रहेकाले क्रमशः गर्दै जाने किराया, मोतिगडा प्रारम्भिक कमिटिका संरक्षक दलबहादुर राईले बताउनुभयो ।