
पूर्णपुष्टि, चैत्र २७ । गाईघाटमा सोमवारबाट १५ दिने सिलाई मेसिन मर्मत तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, उदयपुरको समन्वयमा तालिम सुरु भएको हो । तालिममा २० जना सिलाई व्यवसायीहरुले सहभागीता जनाएको छ ।
सहभागी व्यवसायीहरुलाई सिलाई व्यवसायमा सहजता दिने भन्दै उक्त तालिम प्रदान गरिएको घरेलु उद्योगका कार्यालय प्रमुख नरेन्द्र पराजुलीले जनाए । पराजुलीले तालिमलाई सिरियस तरिकाले सिक्ने र प्रयोगमा ल्याउनु पर्ने जनाए ।
प्रमाण पत्र र सहभागीताले मात्रै आफ्नो व्यवसायन नफस्टाउने भन्दै भविष्यमा उक्त तालिमबाट भरपुर फाईदा लिने गरी सिक्नु पर्ने बताए । तालिमका लागि आवश्यक सामाग्रीहरु कुनै पनि कमि हुन नदिने गरी उपलब्ध गराउने भन्दै मेसनरीमा सिकाईनु पर्ने सबैकुरा कन्जुसाई नगरी सिकाउन प्रशिक्षकलाई कार्यालयले अनुरोध समेत गरे । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरकी अध्यक्ष तथा केन्द्रीय सदस्य ज्ञानु प्रधानले यो कार्यक्रम ल्याउन निकै सकस परेको जनाईन् । मानिसले ब्यवसाय मात्रै गरेर नहुने र त्यसका लागि आवश्यक प्राविधिक ज्ञान समेत चाईने जनाईन् । सामान्य प्राविधिक कुराहरु नजान्दा व्यवसायीहरुले धेरै दुख पाउने र काममै बाधा पुग्ने हुँदा सामान्य तर अतिआवश्यक ज्ञानहरु व्यवसायीहरुले लिनै पर्ने उनले जनाईन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रधानले व्यवसायीका लागि सिलाई मेसिन मर्मत तालिम अत्यावश्यक र सदुपयोगमुखी रहेको समेत जनाईन् । तालिम चैत्र २७ देखी बैशाख १२ गते सम्म संञ्चालन हुने छ ।





