
उदयपुर
पूर्णपुष्टि,माघ ९ । मगर समुदायको महान चाड माघ्यासकराटी तथा हुर्रा महोत्सव उदयपुरको गाईघाटमा धुमधामका सथा सम्पन्न भएको छ । शनिवार नेपाल मगर संघ त्रियुगा नगर कमिटी, प्रा.का.स. वडा नं. १३को आयोजनामा भएको हुर्रा महोत्सव त्रियुगा नगरपालिका वडा नं १३ थरुहट रंगशालामा सम्पन्न भएको हो ।
प्रदेश सभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतिथ्यता भएको कार्यक्रममा मगर जात–जातिका मौलिक परम्परा र सांस्कृतिक झाँकी, हुर्रा नृत्य प्रस्तुत भएको थियो । मौलिक खान परिकारकोसमेत प्रदर्शन भएको थियो । जिल्लाका विभिन्न ठाउँ मगर समुदाय जातीय पहिरनमा सजिएर कार्यक्रममा आएका थिए । कार्यक्रममा गायक शिव थापा मगर, भुवन मगर लगाएतका कलाकारहरुले विशेष प्रस्तुती दिएक थिए ।
मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले महोत्सव गरिएको आयोजकले जनायो । नेपाल मगर संघ त्रियुगा नगर कमिटी ज्ञानेन्द्र मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार ईश्वर बलम्पाकी मगरले गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य बुर्जा मगर, त्रियुगा नगर उप–प्रमुख महेश्वरी राई, मगर संघकी केन्द्रीय नेतृ सीता मगर, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । उपस्थित अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।


























