
पूर्णपुष्टि, चैत ३ गते ।
उदयपुरको गाईघाट स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले पैसाको लागि मानिसको ज्यानमाथि खेलवाड गरेको पिडितहरुले बताएका छन् । एक दुर्घटनामा खुट्टा भाँचिएको विरामीको उपचारमा चरम लापरवाही गरेर जीवनको अन्तिम अवस्थामा पर्याएको र उपचारको नाममा ठूलो धनरासी खर्र्चाएको आरोप पिडितहरुको छ ।
सो अस्पतालमा लापरवाहीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेललाई परिवारले अन्तिम अवस्थामा फर्काएर घरमा राखेका छन् । परिवारले गाईघाट शिभिल अस्पतालकै चरम लापरवाहीले विरामीको अवस्था यस्तो भएको भन्दै यस्ता अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्ने माग राखेको छ । भाँचिएको खुट्टाको हड्डी राम्ररी नजोडिदिनुका साथै उपचार र हेरचाहमा लापरवाही गरेपछि बाँच्ने मान्छे मृत्युको मुखमा पुगेको परिवारले जनाएको छ ।
खुस्किएको हात जोड्न लगाईएको स्टिल निकाल्दा हड्डी काटिदिएको घटना सेलाउन नपाउदै यो अर्को घटना बाहिरिएको हो । ठूलो धनरासी खर्चाएर पनि उपचारमा यस्ता लापरवाही गरेका अन्य घटनाहरु पनि बाहिरिदै गएका छन् ।
घटना विवरण अनुसार गत माघ २२ गते त्रियुगा नगरपालिका १३ का २० वर्षिय राजकिशोर चौधरीले मोटरसाईकल चलाउदा बगाहामा लुईटेललाई ठक्कर दिएको थियो । ठक्करबाट लुइटेलको दाहिने खुट्टा भाँचियो । तत्कालै चौधरीले उपचारका लागि गाईघाट सिभिल हस्पिटल पुर्यायो । त्यहाँ प्राथमिक अवस्थाको उपचार भएपछि घटनाको पिडित र पिडक दुबै पक्षले बाहिरको अस्पताल लैजान खोजे । तर अस्पतालका सञ्चालक तथा डाक्टरले बाहिर नलैजान भन्दै सतप्रतिशत ठीक पारिदिने ग्यारेण्टी दिए । विश्वास गरेर अस्पतालको कुरा माने । तर उपचारको क्रममा लापरवाही देखिदै गयो । राम्रो उपचार नभएको गुनासो राख्दा पनि ठीकै हुदैछ भन्दै राखिरहे तर, एक्कासी १४ आंैं दिनमा विरामी यहाँ ठीक हुदैन जहाँ लैजाने हो लैजाउ भनियो । त्यतिन्जेलमा विरामीको अवस्था अतिनाजुक भईसकेको थियो । हातखुट्टा सबैतिर रगत जमिएर कालो भएको थियो । औषधि वा सिलानपानी चढाउन सिरिन्चले घोच्दा शरीरको कुनै पनि ठाउँबाट नपस्ने अवस्था भएको थियो । त्यतिन्जेलसम्ममा पाँचलाख बढि खर्च भईसकेको थियो ।
“अस्पतालको लापरवाही देखेपछि बाहिर लैजान खोज्दा लैजान नदिएर ठूलो खर्च गरायो । अन्तमा विरामीको अवस्था राम्रो हुनुको सट्टा माया मार्ने अवस्थामा पुर्यायो” विरामीकी बुहारी जमुना लुइटेलले भन्नुभयो ।
स्वास भईन्जेल आस हुन्छ भन्दै विरामीको परिवार र दुर्घटना गराउने दुबै पक्ष मिलेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । उक्त हस्पिटलले बाहिर रेफर गरिदियो, त्यासपछि विराटनगरको एक हस्पिटलमा करिब दुई हप्ता उपचार गरियो । त्यसले पनि रेफर गरेपछि काठमाडौं स्थित टिचिङ हस्पिटलमा लगियो । उक्त हस्पिटलले पनि विरामीको अवस्था अतिनै नाजुक भईसकेको जनाएपछि परिवारले बाँच्ने आशा मारेर बगाहास्थित घर ल्याएको छ । गाईघाट शिभिल हस्पिटल भन्दा बाहिर गएको सबै हस्पिटलले सुरुमै उपचारमा लापरवाही भएको भन्दै इन्फेक्सनका कारण विरामीको अवस्था अति नाजुक बनेको बताएको परिवारले जनाएको छ ।
“पैसाकै लागी अस्पतालले विरामीलाई जबरजस्ती अस्पतालमा राख्यो र विरामीको अवस्था विगारेर बाहिर पठायो” विरामीका भतिज बद्रीनाथ लुइटेलले भन्नुभयो । पैसाको लागी अस्पतालले मानिसको ज्यानमाथी नै खेलवाड गरेको वहाँले बताउनुभयो । यतिन्जेलसम्ममा विरामी उपचार खर्च पनि दशलाख बढि भईसकेको थियो । पैसा भन्दा ज्यान ठूलो भन्दै चौधरीले आप्mनो तर्फबाट ऋण काढेरै पनि खर्च गरिरहेका थिए । तर, सुरुमा उपचारमा लापरवाही गरिदिएकाले सबै उपचारका प्रयास र ठूलो धनरासी खेर गएको ठक्करदिने युवाको बुवा महेन्द्र चौधरीले बताउनुभयो ।
यतिबेला एउटा दुर्घटनाको पिडित र पिडक पक्ष दुबै अस्पतालबाट पिडित बन्न पुगेको भन्दै दुबै पक्षले अस्पताल र उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन् । परिवारमा यो दुर्दशा आएपनि अरु सर्बसाधारणले यो अविगत भोग्न नपरोस् भन्दै विरामीका छोरा देवेन्द्र लुइटेलले बताउनुभयो ।
गाईघाट सिभिल हस्पिटलका सञ्चालकसमेत रहेका डा. सञ्जयकुमार साहले अस्पतालमा डाक्टरहरुको तर्फबाट लुइटेललाई सक्दो उपचार गरेको तर शरीरमा अन्य रोगको संक्रमण देखिएपछि बाहिर पठाएको बताउनुभयो । गाईघाटमा हस्पिटल र डाक्टरलाई बढि नै आरोप लाग्ने गरेको बताउनुभयो । उपचारमा लापरवाही नभएको बताउदै उहाँले आरोप लगाउनेहरुलाई पुष्टि गर्न चुनौती दिनुभयो ।
डाक्टर र अस्पतालविरूद्ध उजुरी
यसअघि सो अस्पतालको गलत उपचारका कारण पिडित बनेको भन्दै पिडितहरु कानुनी उपचारकाे खाेजीमा लागेका छन् । उनीहरूले अस्पताल प्रशासन, स्थानीय प्रहरी, प्रशासनसमेतलाई गुहारे पनि सुनुवाई नभएकाे र न्याय नपाएकाे भन्दै कानुनी उपचारको लागी नेपाल मेडिकल काउन्सिल काठमाडाैंमै पुगेका हुन् । दुईजना पिडितहरुले काउन्सिलमै अस्पताल र डा. सञ्जयकुमार साहको विरुद्धमा उजुरी दर्ता गरिसकेका छन् । पिडितहरु पूर्ण खत्री र कमला रोक्काले काउन्सिलमा उजुरी दर्ता गराएको कमलाका श्रीमान दुर्गा रोकाले बताउनुभयो । अन्य पिडितहरुले समेत उजुरी दर्ता गराउने तयारीमा रहेका छन् ।


