Tuesday, April 21News That Matters

गाउँपालिका अध्यक्ष शेर्पाको निधन

पूर्णपुष्टि, असार २ गते । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार बिहान साढे ८ बजे निधन भएको गाउँपालिकाले जनाएको छ ।

सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि गत जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको जनाएको छ ।

खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय युवा नेता मानिने शेर्पाको पछिल्लो समय काठमाण्डौको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ ।

दश महिना पहिले भारतको मेदान्ता अस्पतालमा भर्ना भएका शेर्पाले त्यहाँ दुई महिनासम्म ‘रेडियो थेरापी’ गराएको थियो । त्यसपछि स्विजरल्याण्डमा थप उपचार गराएर काठमाण्डौ फर्कनुभएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आएको थियो ।

आफूले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि शेर्पाले उपाध्यक्ष टासील्हामु शेर्पालाई जेठ १२ गतेदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यति नै बेला उनले सामाजिक सञ्जाल मार्फत वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरु समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेको थियो ।

तत्कालीन एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हरेको थियो ।