
पूर्णपुष्टि, चैत ६ । उदयपुर ।
गायक रुपकुमार राईको स्वरमा “पहराकी फुल” गीतले यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तताएको छ । गीतको रचनाकार संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती हुन् । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा हिजो मण्डला नाटक घर थापागाउँबाट भिडियो सार्बजनिक गरिएको थियो । भिडियो सार्बजनिक भएको २४ घण्टा नपुग्दै करिब एक लाख दर्शकले हेरिसकेका छन् ।
शिशु च्यापेरै पनि विद्रोही भुमिकामा रहेकी श्रीमतीको गोली लागी मृत्यु हुन्छ । आमाको ढलेको मृत शरीरसंगै लडिरहेकी शिशुलाई एक महिलाले भेटेर स्याहार–सुसार गरेर हुर्काउँछिन्, बढाउँछिन् अनि पढाउँछिन् । सांस्कृतिक फाँटबाट विद्रोही भुुमिकामा रहेका श्रीमान् अर्थात ती शिशुको बुवाले यी सब देखेर, बुझेर पनि शिशुलाई आप्mनो सन्तानको रुपमा अङ्गाल्न सक्दैनन् । शिशु हुर्किदै, बढ्दै असल छोरी बन्दासम्म आप्mनो सन्तानको रुपमा सम्बोधन गर्न सक्ने अवस्था छैन । स्कुल पढ्न गएको बेला, खेल्दै हिडेको बेला छोरीलाई हेरेर मन बुझाउँछन् उनी । यिनै जटिल र कारुणीक परिस्थितिको कथा समेटिएको छ ।
नायक दयाहाङ राई, बेदना राई, मनिता जाइका बान्तवा, जेनिशा राई र आइनी राईका जीवन्त अभिनयले भिडियोलाई दोहोर्याइ–तेहेर्याई हेर्न मन लाग्ने बनाएको छ । गीतको संगीत शान्तिराम राईको रहेको छ । कथा तथा निर्देशन किसन चामलिङ राईको रहेको छ । गायक रुपकुमारको स्वरले गीत र त्यसको भावलाई सयमा सय न्याय दिएको छ । गीतको भिडियो गायक राईको अफिसियल युट्युव च्यानल “रुपकुमार राई अफिसियल” बाट सार्बजनिक गरिएको हो ।
