
पूर्णपुष्टि, असार २१ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएको सन्दर्भमा विपद् व्यवस्थापनको तयारी तीव्र पारेको छ। मन्त्रालयका सचिव एक नारायण अर्यालले बिहीबार भर्चुअल माध्यमबाट सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरूसँग छलफल गरे।
सचिव अर्यालले प्रमुख जिल्ला अधिकारीहरूलाई अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न निर्देशन दिए। उनले स्थानीय तहसँगको समन्वयमा जोड दिँदै विपद्को बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने बताए।
मन्त्रालयले प्रदेश सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूसँग समन्वय गर्न, सडक खुलाउने उपकरण र कर्मचारीहरुको व्यवस्थापन गर्न, तथा तत्काल उद्धार र राहतका लागि हेलिकप्टर लगायतका साधन तयारी राख्न निर्देशन दिएको छ। विपद् पीडित परिवारसम्म पुग्न र कार्यान्वयनमा कुनै समस्या आएमा मन्त्रालयसँग समन्वय गर्न पनि आग्रह गरिएको छ। यी कदमहरूले मनसुनजन्य विपद्को सामना गर्न सरकारी संयन्त्र तयार रहेको देखाउँछ।
