Sunday, June 14News That Matters

मनसुनको उच्च जोखिममा ३० जिल्ला, तीन दिन सतर्कता अपनाउन आग्रह

पूर्णपुष्टि, असार २१ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मनसुन अत्यधिक सक्रिय हुने भन्दै ३० जिल्लालाई उच्च जोखिममा राखेको छ। विभागले असार २१ देखि २३ गतेसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लालाई ‘रेड जोन’ मा वर्गीकरण गरेको हो।

विभागका अनुसार यस अवधिमा देशभर साधारणदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी रेड जोनमा परेका जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखाका कारण मनसुन सक्रिय भएको र यो अवस्था केही दिन कायम रहने देखिन्छ। यसले गर्दा भारी वर्षा, बाढी–पहिरो, निम्न भूभागमा डुबान, सडक अवरोध र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।

विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न विशेष आग्रह गरेको छ।

उच्च जोखिममा रहेका जिल्लाहरूमा म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, मुस्ताङ, कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा, रुकुम पूर्व, जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला, हुम्ला, डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा रहेका छन्। विभागले जारी गरेको यो चेतावनीलाई गम्भीरतापूर्वक लिई आवश्यक सावधानी अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ।