Wednesday, April 22News That Matters

कर्णाली प्रदेशमा असारे विकासको प्रवृत्ति कायमै

पूर्णपुष्टि, असार २१ । कर्णाली प्रदेश सरकारले यस वर्ष पनि बजेट खर्चमा असारे विकासको प्रवृत्ति दोहोर्‍याएको छ । जेठसम्म न्यून बजेट खर्च गरेको सरकारले असार महिना लागेसँगै खर्चमा तीव्रता दिएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारको पहिलो १९ दिनमा मात्र २ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । यो रकम कुल वार्षिक बजेटको झण्डै ९ प्रतिशत हो । जेठसम्म मासिक ३–४ प्रतिशत मात्र खर्च हुने गरेकोमा असारमा एकैपटक वृद्धि भएको हो । चालु आर्थिक वर्षमा  कर्णाली सरकारले ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट ल्याएको थियो । असार १९ सम्म कुल बजेटको ४६.८७ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

बजेट कार्यान्वयन नहुनुमा टुक्रे योजना कार्यान्वयन नगर्ने निर्णय र सरकार परिवर्तन मुख्य कारण रहेको अधिकारीहरू बताउँछन् । यस वर्ष अधिकतम ५५ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान गरिएको छ, जुन गत वर्षको ६६ प्रतिशतभन्दा निकै कम हो । विशेषगरी पुँजीगत खर्चमा कमी देखिएको छ । असार १९ सम्म पुँजीगततर्फ ३७.७७ प्रतिशत मात्र खर्च भएको छ भने चालुतर्फ ५९.७३ प्रतिशत खर्च भइसकेको छ । यो प्रवृत्तिले कर्णाली प्रदेशमा योजनाबद्ध विकास र बजेट व्यवस्थापनमा चुनौती रहेको देखाउँछ । असारे विकासको प्रवृत्तिले गुणस्तरीय कार्यान्वयनमा समेत प्रश्न उठाएको छ ।