
उदयपुर, भदौ १५ गते ।
लिम्चुङ्बुङको मझुवा बाराहा खानेपानी योजनाको पाईप घामले पग्लिएको छ । लिम्चुङबुङ गाउँपालिका – ३ बाराहामा निर्माधिन योजनाको पाईप रुखमा बाँधेर टाँगेको ठाउँमा पग्लिएको हो ।
विकट पहाडी भेगमा खानेपानीको समस्या समाधान गर्नका लागि राज्य संघियतामा नआई नै जिल्ला खानेपानी कार्यालय उदयपुरबाट परेको योजनाको पाईप घामले पग्लिएको लिम्चुङ्बुङ गाउँपालिका– ३ का वडा सदस्य गुरुमणी कुमाईले बताए ।
२०७२ सालमा ८८ लाखको सम्झौता गरि काम सुरु गरेको थियो । पंचवर्षीय योजना भएकाले चालु आर्थीक वर्ष २०७६/७७ सम्ममा योजनाको काम सम्पन्न गर्नु पर्ने सम्झौता गरेको सदस्य कुमाईले बताए । त्यस योजनाका ५० एमएमको पाईप रुखमा बाँधेर टाँगिएको ठाउँमा घामले पग्लेको उनले बताए ।
माटोमा गाढ्नु पर्ने भएपनि ठाउँ ठाउँमा रुखमा बाँधेर टाँगेको ठाउँमा करिब १ सय ५० मिटर कालो पाइप पग्लेर कामै नलाग्ने भएको सदस्य कुमाईले बताए ।

करिब ९ किलो मिटर दुरीमा मुहान रहेको योजनाको २२ धाराको स्टिमेट रहेको मझुवा बाराहा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुलदिप खत्रीले बताए । गत असार अन्तिममा परेको अविरल वर्षाले सालथुम्कि खानेपानी योजना अवरुद्ध गरेपछि जनप्रतिनिधि र उपभोक्ता समितिको अनुरोधमा केहि बाँकि रहेको पाईप दिएर पठाएको अध्यक्ष खत्रीले बताए ।
गाउँमा पानी अवरुद्ध भएपछि वडाध्यक्षले नै केहि समयमा नयाँ पाईप किनेर दिने सर्तका साथ राम्रो पाई दिएर पठाएको एक हप्ता नवित्दै घामले पग्लेको भन्ने सुन्नमा आएको अध्यक्ष खत्रीले बताए । उपभोक्ता समितिले ट्याङ्कीको लागि आवश्यक सिमेन्ट र रड मात्र खरिद गर्न पाउने भएकाले बाँकी सामान खानेपानी कार्यालय आफैले खरिद गरेर पठाउने गरेको उनले बताए ।
खानेपानीले तीन प्रकारको पाईप उपलब्ध गराएको थियो । १० केजी, ६ केजी र अढाई केजीको पाईप पठाएकोमधये अहिले अढाई केजीको पाईप पग्लेको अध्यक्ष खत्रीले बताए । उपभोक्ता समितिले खन्ने, पुर्ने र ट्याङकी बनाउने काम मात्रै भएको उनले बताए ।
अहिलेसम्म ११ वटा धारा, रिजर्भ ट्याङकि निर्माण र पाईपलाईन बिस्तार भएको छ । ट्याङकिबाट धाराहरुमा शाखा विस्तार र ११ वटा धारा निर्माणको काम बाँकि रहेको छ । विकट पहाडी भेगमा सामान पु¥याउनु पर्ने भएकाले ढुवानीमा समस्या आएको अध्यक्ष खत्रीले बताए । सडक अबरुद्ध हुँदा समयमा समान ढुवानी गर्न नसकिएकाले भनेको बेला काम गर्न नपाएको उनले बताए ।
८८ लाखको सम्झौता मध्ये सिमेन्ट, रड खरिद र ढुवानीको लागि चार किस्तामा २२ लाख भुक्तानी भैसकेको अध्यक्ष खत्रीले बताए । अरु बाँकी बजेट पाईप खरिद धारा, टुटी खानेपानी कार्यालय आफैले खरिद गर्ने भएकाले केहि थाहा नभएको उनले बताए ।
खानेपानीको पाईप नै घामले पग्लिनाले स्थानियबासीहरुले खानेपानीको चरम लापर्वाही भएको आरोप लगाएको छ । पाईप पग्लेर कामै नलाग्ने गरि चेप्टिएको छ । एक जिम्मेवार निकायले नै कमसल सामान खरिद गरि उपभोक्तालाई दिनुमा लापर्वाही भएको स्थानियले आरोप लगाएका छन् ।
