
पूर्णपुष्टि, असोज २२
जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । विस २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो ।
तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगाएको प्रहरीले जनाएको छ । रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएको प्रहरीले जनाएको छ ।
तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका–१० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।
यो घटनाबाट चार वर्ष अघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ । यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएको थियो । वि.सं. २०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएको थियो ।

