
पूर्णपुष्टि, असोज २२
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा सानो उमेरको प्रधानमन्त्री हुनुहुन्छ । तर उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।
सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् ।
प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् । आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् ।
उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।

