
पूर्णपुष्टि, २० असोज ।
त्रियुगा नगरपालिकाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित सचेतना टोल विकास संस्थाले आफ्नो भवनको कामलाई अन्तिम चरणमा पुराएको छ ।
काम भन्दा अघि बजेट माग्ने चलनलाई अन्त्य गर्दै कसैको मुख नताकी आफ्नै बलबुतोमा भवन निर्माण सुरु गरेको उक्त टोल विकास संस्थाले भवन निर्माणको कामलाई अन्तिम चरणमा पुराएको हो ।
त्रियुगा नगरपालिका १० बोक्सेमा निर्माण जारी रहेको यस संस्थाको एक तले भवन जनश्रमदान र चन्दा संकलनबाट भैरको छ । २०७२ साल माघमा त्रियुगा नगरपालिकामा दर्ता भई विकास निर्माणको कामलाई सहजीकरण गर्न स्थापना भएको सचेताना टोल विकास संस्थाले करिब ५ बर्ष पछि आफ्नो भवन निर्माण गर्न सफल भएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए ।
हाल राईकै नेतृत्वमा उक्त भवन निर्माणको काम अघि बढिरहेको छ । भवन नहुँदा अरुकै घर, सार्वजानिक स्था र अरुकै भवनबाट कार्यसम्पादन गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै भवन निर्माण गर्नु पर्ने अतिआवश्यक रहेको समितिले महशुस गर्यो । राईले भवन निर्माणका लागि निकै कष्ट र चुनौतीहरु बेहोर्नु परेको समेत जनाए । भवन बनाउँन तातिदैँ गर्दा जग्गा पास गर्न निकै कठिन भएको राईको अनुभव छ । मालपोत कार्यालय उदयपुरले संस्थाको नाममा जग्गा बनाउन नसकिने भन्दै लालपुर्जा दिन नसकिने कुरा गरेपछि धेरै दुख पाएको अध्यक्ष राईको गुणासो छ ।
संस्थाको नाममा लालपुर्जा दिन समस्या हुने यसको स्रोत साधन केहो भन्ने जस्ता मालपोतको प्रश्न र झन्जटले धुरुक्कै रोएको अवस्थामा निरन्तरको प्रयासले भवन निर्माणलाई अघि बढाईएको राईको भनाई छ । पछि लालपुर्जा प्राप्तीका लागि टोल विकास संस्थाले नगरपालिका, मालपोत कार्यालय र टोल विकास संस्थाको छाता संगठनमा बाराम्वार दगुर्नु परेको उनि बताउँछन् । पछि त्रियुगा नगरपालिका ५ श्रीपुरको एकता टोल विकास संस्थाले पनि संस्थाकै नाममा लालपुर्जा प्राप्त गरेको कुरा थाहा भएपछि उक्त लालपुर्जा कसरी पायो भन्ने प्रश्न उठाउँदै सोही अनुसार प्रक्रिया संकलनमा लागेको राईले जनाए । त्यस पश्चात पनि मालपोतले आनाकानी गरेपछि सबैलाई हार गुहार गरी लालपुर्जा प्राप्त गरेको उनले जनाए । लालपुर्जा प्राप्तीका लागि नगरपालिकाले पनि मालपोतलाई दवाव दिएको थियो । आज सबैको पहल कदमी र संस्थाको सक्रियताले भवन निर्माणको कामनै अन्तिम चरणमा छ ।
आफ्नै लागत र आफ्नै तागतमा भपन निर्माण
पछिल्लो समय देशमा श्रमदानको अभियान ब्यापक बन्दै गएको छ । सरकारको मुख ताकेर बजेटको आश गर्ने योजनाहरु पछिल्लो समय असफल हुँदै गएको पाईन्छ । धरै जसो सार्वजानिक निर्माणका कार्य योजनाहरु सरकारलाई पर्खेर बसेको हुन्छ । तर देशमा सरकार चुस्तदुरुस्त नहुँदा त्यस्ता पर्खाईको योजनाहरु अन्तिममा अघि बढ्न सक्दैन । यहि समस्या बुझेर यस टोल विकास संस्थाले भने कसैको मुख नताकी आफ्नै तागत र आफ्नै लागतमा काम सुरु गरे ।
लागतका लागि संस्थामा रहेका सदस्य र अन्य व्यक्तिहरुलाई चन्दाको आह्वान गरे भने तागतका लागि सबैलाई श्रममा भिडाए । श्रमदानकै कारण भवनले छिटो र कम पैसामै सम्पन्नता पाउने स्थिति छ । अध्यक्ष राईका अनुसार यस टोल बिकास संस्थामा जम्मा १३५ जना सदस्यहरु रहेका छन् । ती सबै सदस्यहरुलाई दुई दिनको दरले श्रमदानमा सहभागी गराईएको थिायो । यस्तै अन्य इच्छुकहरुलाई पनि श्रमदानमा आह्वान गरिएको थियो ।
स्टोर सहितको एक तले भवनका लागि जम्मा ५ लाख रुपायाँ मात्रै लागत लागेको अध्यक्ष राईको भनाई छ । यदि श्रमदान नगर्ने भए त्यो २० लाख हाराहारीमा खर्च हुने देखिन्छ । राईका अनुसार ८० सालको फागुन ५ गते संस्थाको बैठकले भवन निर्माण स्वरुप महत्वपूर्ण निर्णय गर्यो । जसमा भवन निर्माणका लागि स्वइच्छाले ५ सय देखी माथी जति पनि सहयोग गर्न सकिने भनेर पत्र तयार गर्यो । सोही अनुसार संस्थाले तत्काल सहयोग उठाउने अभियान अगाढी बढायो । ५ सय सहयोग गर्नेलाई रसिदमा उल्लेख गरी सार्वजानिक गर्ने, ५ हजार सम्म सहयोग गर्नेलाई भित्तेलेखनमा नाम उल्लेख गर्ने र ५ हजार माथि सहयोग गर्नेलाई भने शिलालेखमै नाम उल्लेख गर्ने गरी उक्त अभियान चलाईयो । यस अभियानले सफल पाए सँगै सहयोगी हातबाट रु ३ लाख र संस्थाको कोषबाट रु २ लाख गरी रु ५ लाखमै भवन निर्माण तिव्र बनाईयो । हाल भवन निर्माणको काम फिनिसिङमा पुगेको छ । अध्यक्ष राईका अनुसार उक्त बजेट सामान खरिदमा मात्रै बढी केन्द्रीत रहेको जनाए अन्य काम भने श्रमबाटै सम्भव भएको हो ।
अनुभवी नेतृत्व र निरन्तर प्रयास
उक्त टोल विकास संस्थाको अध्यक्षमा पूर्व शिक्षक समेत रहेका अनुभवी व्यक्तित्व पर्शराज राईको नेतृत्व रहेको छ । दुई कार्यकालको अन्तिम चरणमा आईपुगेका राईले पहिलो कार्याकालमा टोललाई बिकास सँग बढी जोडे । पछिल्लो कार्यकालमा भने विकास सहजीकरण सँगै भवन निर्माणलाई पनि जोड गरे । सोही अनुरुप अहिले भवन निर्माणले सार्थकता पाएको हो ।
अध्यक्ष राई करिब ३० बर्ष शिक्षक पेशामा आबद्ध भई अहिले सामाजिक पेशामा आएको हो । उनि शिक्षक पेशाबाट रिटायर भएपछि आफ्नै गाउँटोलको सामाजिक कार्यमा फर्किएका हुन् । राई अनुभवी र क्रियाशिल ब्यक्ति हुन् । राईकै नेत्तृत्वमा संस्था उत्कृष्टता घोषित हुँदै नमुना टोल विकास संस्थाको रुपमा परिणत भयो, र त्रियुगा नगरपालिका भरी उत्कृष्ट ५ मा समेत पर्न सफल भयो ।

नगरपालिका र टोल विकास संस्थाका छाता संगठनले गरेको मुल्याङकनले उत्कष्ट ५ पायो । १६ ओटा नगरपालिकाकोे ३९६ संस्थाहरु मध्ये आफुलाई उत्कृष्ट ५ भित्र अटाउँदै नमुना टोल बिकास संस्थाको रुपमा चिनिन थाल्यो । सोही उत्कृष्टताको प्रमाण पत्र सहित नगरपालिकाले दिएको ३० हजार नगदले गदगद भएको संस्थालाई भवन निर्माणमा तत्काल प्रोत्साहन मिल्यो ।
हाल त्रियुगा नगरपालिकामा कयौँ टोल विकास संस्थाहरु भवन बिहिन छन् । भने कयौँको भवन जिर्ण अवस्थामा छ, कयौँको चै सामान्य अवस्थाको छ । यस बीच यस संस्थाले व्यवस्थित भवन निर्माणमा आफुलाई सफल बनायो । “पहिले काम अनि दाम भने झैँ” संस्थाले पहिले कसैलाई दाम माग्ने काम गनेरन । पहिले आफुले काम गर्ने अनि मात्रै सम्बन्धीत ठाउँमहरुमा बजेट माग्ने निती बनाए । सोही अनुसार भवनको काम निर्माण सुरु गरेपश्चात उनिहरुले स्थानीय सरकार समक्ष बजेटको माग गर्न सुरु गरेको छ । काम नदेखी विश्वास गर्न नसक्ने अवस्था हुँदा पहिले काम गरेर देखाएको छ । काम देखाएर बजेट माग्न सहज हुने भन्दै अध्यक्ष राईले उक्त भवनको लागि त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको पहलमा १ लाख र वडा कार्यालयको तर्फबाट ९० हजार स्वीकृतनै भैसकेको छ । अव त्यस बजेटलाई भने माथिल्लो तल्लाको लागि लगानी गर्ने अध्यक्ष राईको भनाई छ ।
