
पूर्णपुष्टि, असोज २१ । उदयपुरमा बिभिन्न पालिकाको बजार अनुगमनबाट दुई व्यवसायीलाई २० हजार रुपैँया जरिवाना गरिएको छ भने म्याद गुज्रिएको १७ हजार रुपैँया बराबरको समान नष्ट गरिएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वको टोलीले त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका १७ वटा होटल तथा किराना पसलमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा त्रियुगा नगरपालिका वडा नं. ४ सालघारी स्थित न्यु भेराइटी मसला उद्योग र बेलका नगरपालिका १ आमबासी स्थित न्यु खड्का किराना एण्ड जेनरल स्टोरलाई १०÷१० हजार रुपैँया जरिवाना गरिएको हो । मसला उद्योगले प्याकेटमा लेभल विवरण नराखिकन विक्रि वितरण गरेको र सरसफाईमा ध्यान नदिएको भन्दै १० हजार रुपैँया जरिवाना गरिएको हो भने किराना पसलले अन्त शुल्कमा दर्ता नगरी मदिरा तथा सुर्तिजन्य पदार्थ बिक्रि बितरण गरेको भन्दै १० हजार रुपैँया जरिवाना गरिएको हो ।

त्रियुगा नगरपालिकाको मोतिगडा, जोगिदह, चौदण्डीगढी नगरपालिकाको हडिया, शनिबारे र बेलका नगरपालिकाको आम्बासीमा बजारमा अनुगमन गरिएको थियो । बजार अनुगमनबाट म्याद गुज्रिएको हर्लिक्स, कोका कोला, डिउ, पाउरोटी, बेसार, मसला प्याकिङ गर्ने प्लाटिक, भारतिय सुर्ती लगायतका १७ हजार मुल्य बराबरको समान बरामद गरिएको थियो । बरामद गरिएको समानहरु चौनपा–४ स्थित शनिबारे खोलामा जलाएर नष्ट गरिएको हो । अनुगमनमा समय नाघेको सामान, ब्यवसाय संञ्चालनको आवश्यक कागजपत्र, मुल्य सुचि, नाप तौल, सरसफाई, कालाबजारी लगायतमा अनुगमन गरेको थियो ।
चाँडबाँड नजिकिए सँगै उपभोक्ताहरु ठगिने र कालावजारी मौलाउने भन्दै सचेत गराउने उदेश्य सहित जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, करदाता सेवा कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयले संयुक्त अनुगमन गरेको हो ।







