
पूर्णपुष्टि, बैशाख २२ । झापाको चन्द्रगढी बिमानस्थलबाट काठमाण्डौँ जान लागेकी दुई युवतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर घर भएकी २३ बर्षीया संध्या श्रेष्ठ राजवंशी र निजको २१ बर्षीया बहिनी सोनी श्रेष्ठ राजवंशी रहेकी छन् ।
हिजो राति सवा ९ बजेको समयमा चन्द्रगढी बिमानस्थलमा बुद्ध एयरको बिमान द्वारा काठमाण्डौ जान लागेका उनिहरुको बडी सर्च गर्ने क्रममा ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर फेला परेको थियो । उक्त ब्राउन सुगर फेला परेपछि दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरानका दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित दुई युवक पक्राउ
यसैगरी सुनसरीको धरान–११ का स्थानीय २३ बर्षीय काला निरज भनिने युवराज लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बुको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुक्कुरी र १ थान तरवार बरामद गरेको हो भने धरान–१६ का २३ बर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्रउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
