
पूर्णपुष्टि, माघ २१
मुर्ति चोरीको अभियोगमा जेल सजाय भोगेका र गैरसांसद समेत रहेका हुम्लाका माओवादी नेता कार्चेन लामालाई मन्त्री बनाउने तयारी भएको छ । माओवादी केन्द्रले लामालाई कर्णाली प्रदेशको सरकारमा मन्त्री बनाउन लागेको हो ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना मन्त्री बनाउन सकिने कानुनी छिद्रबाट माओवादीले लामालाई मन्त्री बनाउन लागेको हो ।

मन्त्री बन्ने तयारीमा रहेका लामाले संविधानले दिएको अधिकारअन्तर्गत आफू मन्त्री बन्न लागेको बताए । ‘ठूला नेताहरूले बनाएको संविधान हो‚’ उनले भने, ‘गैरसासंदलाई ६ महिना मन्त्री हुन पाउने लेखिएको छ ।’
यद्यपी आफूले कैद जीवन बिताए पनि उनले आफूमाथिको अभियोग ९मूर्ति चोरी० सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार्टीका नेताहरूले पहल गरेको लामाको भनाइ छ । मन्त्री बन्ने पक्का भएपछि उनी प्रदेश राजधानी सुर्खेत आइपुगेका छन् ।

आठ मन्त्रालय रहेको कर्णालीमा नेकपा माओवादीले चार, एकीकृत समाजवादीले तीन र कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी गरेपछि भागबण्डा मिलाउन सकस भएको थियो । माओवादीले तीन, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले दुई मन्त्रालय लिने सहमति नजिक पुगेको स्रोतको दाबी छ ।
माओवादी केन्द्रबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । अब कार्चेन लामा र गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने निर्णय भएको प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।

