
चौदण्डीगढी/चैत्र, २१
उदयपुरको चौदण्डीगढी नगरपालिकाले पालिकाभित्रका विपन्न र दैनिक ज्यालादारी नागरिकहरुलाई पहिचान गरी आजबाट धमाधम राहतस्वरुप खाद्यन्न वितरण थालेको छ । हाललाई १५ दिनका लागि खाद्यन्न वितरण गरिएको छ । लकडाउनका कारण काम गर्न नपाएर चुल्होमा आगो बल्न छाडेका विपन्नबर्गलाई पहिचान गरी खाद्यन्न वितरण गरेको हो ।
पालिकाले आज वडा नं. २, ५, १० मा वितरण गरेको छ भने बाँकी वडाहरुमा भोलीसम्ममा वितरण सक्ने जनाएको छ । वडा कार्यालयहरुको सक्रियतामा मेयर र उपमेयर आफै खटेर खाद्यन्न वितरण भईरहेको छ ।
खाद्यन्न वितरण प्रभावकारी बनाउन पालिकाले आफै प्याकिङ गर्ने र कोड नम्बर दिएर वितरण गर्ने गरेको छ । चामल र त्यसका लागि आवश्यक दाल, नुन, तेल वितरण गरेको छ । साथै साबुन, मास्क जस्ता सरसफाईका सामग्री पनि वितरण गरेको छ । टोली नै खटिएर खाद्यन्न विपन्न वर्गका घरघरमै पुर्याईएको छ । घरघरमै खाद्यन्न पाएपछि विपन्न वर्गका नागरिकहरु खुसी भएका छन् ।
पालिकाभित्र मुसहर बस्तीहरु रहेकाले पहिलो प्राथमिकताका साथ उनीहरुलाई वितरण गरिएको छ । पालिकामा कोही पनि खाद्यान्न अभावले भोकमा नपरुन भन्ने हेतुले नगरपालिकाले ७० लाख बराबरको खाद्यन्न राहत प्याकेज तयार पारेको छ । पालिकामा करिब ३ हजार घरधुरी विपन्न बर्गमा रहेको पालिकाले जनाएको छ ।
तीनीहरु सबैलाई राहत वितरण गरिने जनाइएको छ । लकडाउन र कोरोना भाइरसको संक्रमणको जोखिम अझै पनि रहेकाले त्यसलाई समेत मध्येनजर गर्दै राहत प्याकेजको योजना बनाइने पालिकाले जनाएको छ । चौदण्डीगढीसंगै जिल्लाका अन्य आठ वटै पालिकाहरुले पालिकाभित्रका विपन्न बर्गलाई खाद्यन्न वितरण गरिरहेको छ ।
तस्विरहरु



