
पूर्णपुष्टि, फागुन २४ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाका तीनजना उदीयमान ब्याड्मिन्टन खेलाडीहरुले भोजपुरमा भएको सत्रवर्ष मुनीको ब्याड्मिन्टन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेका छन् ।
गत फागुन १९ देखि २२ गतेसम्म भएको १ नं. प्रदेश स्तरीय अन्डर सेभेन्टिन ब्याड्मिन्टन प्रतियोगितामा विनय चौधरी, रोजी राई र स्मृति राईले तेस्रो स्थान हाँसिल गरेका हुन् । उनीहरुले चौदण्डीगढी नगरपालिकाको तर्फबाट भाग लिएका हुन् । रोजी र स्मृति बेल्टार ब्याड्मिन्टन एकेडेमीबाट प्रशिक्षित खेलाडी हुन् भने विनय सुन्दरपुर ब्याड्मिन्टन क्लवबाट प्रशिक्षित खेलाडी हुन् ।
प्रशिक्षकसमेत रहेका बेल्टार ब्याड्मिन्टन एकेडेमीका अध्यक्ष भेषराज मगरका अनुसार चौदण्डीगढीका उदीयमान खेलाडीहरुले जिल्ला बाहिर प्रदेश स्तरको प्रतियोगितामा पहिलो पटक भाग लिएका हुन् । पहिलो पटकमै उनीहरुले सफलता हाँसिल गरेका हुन् । ११ जना खेलाडीले भाग लिएका मध्ये तीनजनाले तेस्रो स्थान हाँसिल गर्नुलाई उपलब्धीको रुपमा लिएको उहाँले बताउनुभयो ।
नयाँ पुस्तालाई ब्याड्मिन्टनमा प्रोत्साहन गर्ने उद्देश्यले चौदण्डीगढीमा ब्याड्मिन्टन एकेडेमी सञ्चालन गरिएको र नगरपालिकाको महत्वपूर्ण सहयोग रहदै आएको छ ।
