Monday, April 20News That Matters

चौदण्डीगढीमा खेलकुद प्रतियोगिता आयोजना गर्न क्लब दर्ता अनिवार्य

पूर्णपुष्टि, कार्तिक ९ ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्र हुने सबै खेलकुद प्रतियोगिताहरू आधिकारिक दर्ता भएका क्लबमार्फत मात्र आयोजना गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार नगर खेलकुद विकास समितिको आयोजनामा भएको छलफलमा यो निर्णय गरिएको हो ।

नगर प्रमुख कालुमान लामाले दर्ता नभएका क्लब वा संघसंस्थाले आयोजना गर्ने खेलकुद प्रतियोगिताले विवाद सिर्जना गर्ने गरेको बताए । उनले यस्ता समस्या समाधानका लागि नगर खेलकुद विकास समितिको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीका अनुसार दर्ता नभई प्रतियोगिता आयोजना गर्ने क्लबलाई नगरपालिकाले कुनै पनि सहयोग नगर्ने र प्रतियोगिताबाट उत्पन्न समस्याको जिम्मेवारी आयोजक स्वयंले लिनुपर्ने निर्णय भएको छ । तर परापूर्वकालदेखि सञ्चालित ऐतिहासिक प्रतियोगिताहरूको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिसमा सञ्चालन गर्न दिइने छ ।

छलफलमा सहभागीहरूले साना तथा रमाइलोका लागि आयोजना गरिने खेलकुद प्रतियोगिताका आयोजक क्लबहरूलाई दर्ता गर्न बाध्य पार्दा खेल गतिविधि सुस्ताउन सक्ने चिन्ता व्यक्त गरेका थिए । नगरपालिकाले खेलकुद प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन खेलकुद क्यालेन्डर निर्माण गरी कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ ।