Monday, April 20News That Matters

सरकारको कमजोर कार्यशैलीविरुद्ध आज माओवादी केन्द्रको खबरदारी सभा

पूर्णपुष्टि, कार्तिक १० ।  नेकपा माओवादी केन्द्रले सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज काठमाडौंमा खबरदारी सभा गर्दैछ ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न खबरदारी सभा गर्न लागेको जनाएको छ ।

माओवादी कन्द्रले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न पनि खबरदारी गर्ने जनाएको छ । साथै सामाजिक न्यायका मुद्दाहरु, बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रण, सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न खबरदारी सभा गर्न लागेको हो ।
कांग्रेस(एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको माओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने र जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने माओवादी केन्द्रले जनाएको छ । प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीको भनाइ छ ।