Wednesday, June 17News That Matters

चौदण्डीगढीमा श्री सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण

बेल्टार
पूर्णपुष्टि,माघ १२ । चौदण्डीगढी नगरपालिका ६मा अवस्थित श्री ज्योति मा.वि. बेल्टारलाई सरस्वती मन्दिर उद्धघाटन तथा हस्तान्तरण गरिएको छ । बिहिवार सरस्वती पुजाको अवसर पारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा विद्यालयलाई मन्दिर हस्तान्तरण गरिएको हो ।

करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ बर्षिय छोरा युगान्त र १९ बर्षिया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका थिए । स्वर्गिय भतिज र भतिजिको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावि गरे ।

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिना यता वचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो । ‘नेपालको अर्थतन्त्र कमजोर हुनु वाह्यि समस्या नै हो, अधिकारले भने, ‘त्यसका बाबजुद मौद्रिक नीतिमा केहि सुधारात्मक अभ्यासहरु भईरहेका छन् । साना व्यवसायिलाई संरक्षण गर्ने गरी नीतिहरु बनाईएको बताए । अधिकारीले वित्तिय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंङ्कि कारोवारमा जोड्ने अभियान सुरु गरिएको बताए । यससकासाथै बिद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंक सम्बन्धि जानकारी दिने काम सुरु गरिएको बताए ।

यता चौदण्डिगढीका मेयर कालुमान लामाले सामान्य किसानसँग जोडिने गरी राष्ट्र बैंकले कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए । उनले गरेर खान्छु भन्ने दृढ इच्छाशक्ति भएका सामान्य नागरिकलाई बैंकले ऋण नदिने र आफुसँग लगानी गर्ने स्रोत नहुँदा आर्थिक समृद्धीका बाटोहरु बन्द भएको बताए ।

उपमेयर मणिकादेवी दुलालले सस्तो व्याजदरमा सामान्य किसानले बैंकबाट ऋण पाउने हो भने मुलुक समृद्धशाली बन्न कुनै समय नलाग्ने बताईन् । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक राजकुमार ओझाले बिद्यालयले हालसम्म गरेका गतिविधी, प्रगति प्रतिबेदन सुनाएका थिए । माध्यमिक तहसम्म १ हजार ६ सय बिद्यार्थी रहेको उक्त बिद्यालय नगरपालिकाकै नमुना बिद्यालय हो ।