Wednesday, June 10News That Matters

चौदण्डीगढी नगरको फेरी अर्को गलत कार्य : एउटै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ति

पूर्णपुष्टि, बैशाख ५ । चौदण्डीगढी नगरपालिकाले कर्मचारी नियुक्तीमा चरम लापर्वाही गर्दै आएको पाईएको छ । कर्मचारी नियुक्तीका लागि पैसा बार्गेनिङ अडियो सार्वजानिक नसेलाउँदै अर्को बेतिथि फेला परेको हो । नगरले एकै व्यक्तिलाई एकै दिन दुईदुई पटक नियुक्ती गर्दै फेरी अर्को त्रुटी जनतामाझ ल्याएको छ । यसरी नियुक्ती हुनेमा वडा नम्बर १० हडिया स्थित आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन (एचए) पदमा कार्यरत सुरेन्द्र चौधरी रहेका छन् ।

चौधरीलाई गत पुस २१ गते ज्यालादारी र करारमा एकै दिनमा दुईदुई पटक नियुक्ति गरिएको छ भने दुवै पत्रको चलानी नम्बर पनि २२३२ रहेको छ । चौधरीको नियुक्ति पत्रमा सिफारिस अधिकृत जनकलाल लेखिले भने, “०७४ सालको पुरानो नियुक्ति देखाएर जागिर खान खोजेको रहेछ, पछि थाहा पाएछि सच्याइएको थियो । तर उसले फोटो खिचेर राखेको रहेछ ।” जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले ०७४ असार १६ गते पहिलो नियुक्ति २ नं। वडाको माडिवास स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पहिलो नियुक्ति पाएका थिए ।

त्यसपछि उनी माडिवासबाट हडियामा ०७५ साउन १५ गते नियुक्ति भइ काम गर्दै आएका थिए । आफुलाई अन्याय भएको छ, मलाई निकालेर न अर्को कुनै कर्मचारी नियुक्ति गरेका छन् कार्यालय कर्मचारी विहीन छ । हाल पूर्वाग्राहीढंगको कर्मचारी नियुक्ति भइरहेको उनको भनाइ छ ।

चौधरीले भने “तीन महिनादेखि तलव पनि पाएको छैन, र मेरो नियुक्तिले अन्योलता देखिएकोले कार्यालयसमेत गएको छैन ।” नगरपालिकाले पुराना करार कर्मचारीलाई हटाएर नियम विपरित फागुन १७ गते विभिन्न पदमा दरखास्त आह्वान गरेका थिए ।

सो कर्मचरी नियुक्ति गर्ने विषयमा मेयर कालुमान लामाको स्वकीय सचिव देवप्रकाश राईले एक सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस मागेको फोन संवाद सार्वजानिक भएपछि सो विरुद्ध चौतर्फी विरोध भइरहेको छ ।