Tuesday, June 23News That Matters

चौदण्डीगढी नगरपालिकाको बजेट १ अर्ब ३७ करोड ९ लाख, पूर्वाधार र विकासमा जोड

पूर्णपुष्टि/बेल्टार, असार ९ ।

चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३७ करोड ९ लाख ५ हजार २ सय २२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २० औँ नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक मणिकादेवी दुलालले प्रस्तुत गरेको बजेटमा चालु तथा प्रशासनिक खर्चतर्फ ९१ करोड ८५ लाख रुपैयाँ र कार्यक्रम तथा पुँजीगत खर्चतर्फ ४५ करोड २४ लाख ५ हजार २ सय १२ रुपैयाँ विनियोजन गरिएको छ । बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जना लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका कार्यक्रम सञ्चालनका लागि विभिन्न स्रोतबाट बजेट व्यवस्थापन गरेको छ । जसअनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडमार्फत १७ करोड ६५ लाख ३२ हजार ३ सय १० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी वित्तीय समानीकरण अनुदानबाट १६ करोड ११ लाख १८ हजार रुपैयाँ, सशर्त, समपूरक तथा विशेष अनुदानबाट ४४ करोड ३७ लाख २४ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट १३ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ भने विभिन्न विकास साझेदार संस्थाबाट १४ लाख ९८ हजार रुपैयाँ सहयोग प्राप्त हुने उल्लेख गरिएको छ । गत आर्थिक वर्षको मौज्दातबाट ३ करोड ३२ लाख ७२ हजार ९ सय २ रुपैयाँ बजेटमा समावेश गरिएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय पूर्वाधार विकास, सेवा प्रवाह सुधार तथा नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित बजेट ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाको सञ्चालन सभाका सचिव एवम् पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले गर्नुभयो ।