
पूर्णपुष्टि/उदयपुर, असार ९ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित मदन भण्डारी आँखा अस्पताल उदयपुरको आयोजनामा जिल्ला कारागार उदयपुरमा रहेका कैदीबन्दीहरूलाई आज निःशुल्क चस्मा वितरण गरिएको छ ।
कारागारमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई तथा मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले संयुक्त रूपमा चस्मा वितरण गरेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेश विष्टका अनुसार दृष्टि सम्बन्धी समस्या भएका कैदीबन्दीहरूको आँखा परीक्षणपछि आवश्यकता अनुसार चस्मा उपलब्ध गराइएको हो । यस कार्यक्रमले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै उनीहरूको दैनिक जीवनलाई सहज बनाउन सहयोग पुगेको विश्वास गरिएको छ । कार्यक्रममा कारागार प्रशासन, अस्पतालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । संस्थाले समुदायका विभिन्न वर्गलाई लक्षित गरी यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
