
साउन २८ गते ।
डोटिको एक पालिकाले छाउ नबार्नेलाई पुरस्कार दिने भएको छ । पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने व्यवस्था गरेको हो ।
छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका पालिकाको पाँचौं गाउँसभाबाट छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय गरेको पालिकाले जनाएको छ । छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति गाउँसभाबाट पारीत गरेको पालिका अध्यक्ष दिर्घराज बोगटीले बताए ।
पालिकाले छाउपडी नबार्नेलाई पुरस्कार मात्र होइन बार्नेलाई दण्डको पनि व्यवस्था गरेको छ । ‘महिनावारी भएका बेला छाउ बार्नेलाई पालिकाबाट प्रदान हुने सेवा सुविधामा रोक लगाउने निर्णय भएको अध्यक्ष बोगटीले बताए ।
पालिकाले छाउ बार्नेको घरमा रातो र नबार्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ ।
अव प्रत्येक घरमा झण्डा गाडेपछि समाजिकरुपमा तिरस्कार जस्तो हुने भएकाले नैतिक दबाव पर्छ भन्ने विश्वास लिएको पालिकाले जनाएको छ ।’
पालिकामा करिब ३ सय छाउगोठ रहेको छ । छाउगोठहरुको तथ्याङ्क संकलन गर्ने तयारी गरिहेको र कति गोठ प्रयोगमा छन, के कस्तो अबस्थामा छन भनेर झण्डा गाड्ने बेलामा एकिन तथ्याङ्क संकलन गर्ने पालिकाले जनाएको छ ।
