
पूर्णपुष्टि, १५ असार ।
भक्तपुर र चितवनमा आफ्नै भतिज र छोरा बाट दुई जनाले ज्यान गुमाएको छ । भक्तपुरमा भतिजले आफ्नै काकाको कुटपिट गरी हत्या गरेको छ । ८१ वर्षीय कृष्ण बहादुर प्रजापतिको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका(९ सूर्यमणि बस्ने ३५ वर्षीय नुछे प्रजापतिलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिट पश्चात् फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका (७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको जनाएको छ ।
उता चितवनमा आफ्नै बुबा ७० वर्षीय दिलबहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका (२ आदर्शनगर शीतल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात् फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
