
पूर्णपुष्टि, साउन २८ । म्याग्दीको बेनी नगरपालिका-९ आङ्खखेत कालीमुलको जङ्गलमा एक मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कङ्काल गाडिएको स्थान नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल पनि भेटिएको छ।
गङ्गटा खोज्न गएका स्थानीयवासीले आइतबार दिउँसो यी वस्तुहरू फेला पारेपछि प्रहरी र जनप्रतिनिधिलाई सूचित गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार “कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइँदैछ। अनुसन्धान कार्य पनि साथसाथै अगाडि बढाइएको छ।”
यो घटना गत पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका-९ घतानकी १९ वर्षीया मीना परियारको केससँग जोडिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा पुगेका मीनाका आफन्तले फेला परेका गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनालाई बेपत्ता बनाएको आरोपमा एक स्थानीय युवकलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले थप बताए, “बेपत्ता मीना, फेला परेको कङ्काल, भेटिएका सामग्री र थुनामा रहेका युवकबीचको सम्बन्धबारे प्रयोगशालाको प्रतिवेदन आएपछि मात्र पुष्टि गर्न सकिनेछ।”
