Friday, May 1News That Matters

तीन सातादेखिको आन्दोलन अन्त्य: धरानमा खानेपानी महसुल यथावत्

पूर्णपुष्टि, साउन २८ । धरान उपमहानगरपालिकाले खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिएको छ। आइतबार राति अबेरसम्म चलेको वार्तामा यो निर्णय भएको हो। नगरप्रमुख हर्क साम्पाङ र १० राजनीतिक दलका प्रतिनिधिहरूबीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ।

सहमति अनुसार हालै बढाइएको खानेपानी महसुल तत्काल फिर्ता लिइनेछ। साथै, सात दिनभित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गरिने र बोर्डको पूर्णता सम्बन्धमा उच्च अदालतको फैसला मानिने भएको छ।

यो निर्णयसँगै तीन सातादेखि जारी आन्दोलन अन्त्य भएको छ। स्थानीय उपभोक्ता र राजनीतिक दलहरूले आफ्ना विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन्।वार्ता आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भई राति अबेरसम्म चलेको थियो। यस बीचमा उपमहानगरपालिका कार्यालय बाहिर आन्दोलनकारीहरूले धर्ना दिइरहेका थिए। यी सहमतिहरू आज पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।