Friday, May 1News That Matters

कोशी प्रदेश सरकार गठन अन्योल, प्रदेशसभा बैठक अनिश्चित

पूर्णपुष्टि, साउन २८ ।  कोशी प्रदेशसभाको बैठक लामो समयदेखि स्थगित रहेको छ। गत असार ८ गते बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएपछि अर्को बैठक कहिले बस्ने भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको अनुरोधमा बैठक रोकिएको बताएका छन्।

कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीका अनुसार कांग्रेस सरकारमा सहभागी नभएसम्म प्रदेशसभा बैठक नबस्ने सम्भावना छ। कांग्रेसभित्र मन्त्रालय बाँडफाँटमा विवाद कायमै रहेको छ। डा. शेखर कोइराला पक्षले थप २ मन्त्रालय माग गरेका कारण सरकार गठनमा ढिलाइ भएको बताइएको छ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरिरहेको छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाढी पहिरो लगायत समसामयिक विषयमा छलफल गर्न र विभिन्न विधेयकहरू पारित गर्न बैठक आवश्यक रहेको बताएका छन्।

प्रदेशसभा बैठक नबस्दा प्रदेश निजामती ऐन संशोधन लगायत महत्वपूर्ण विधेयकहरू अलपत्र परेका छन्। यसले प्रदेशको विकास र जनताको हितमा असर पार्ने देखिन्छ। मुख्यमन्त्री कार्कीले भदौको पहिलो साता बैठक बोलाउने सम्भावना व्यक्त गरे पनि कांग्रेस सरकारमा सहभागी नभएसम्म बैठक नबस्ने देखिन्छ।

प्रदेशसभामा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३ सीट रहेको छ। एमाले र कांग्रेसबीच मन्त्रालय बाँडफाँटको सहमति भए पनि कांग्रेसले आन्तरिक विवादका कारण मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। कांग्रेसले भदौ १-२ गतेसम्म मन्त्रीको नाम टुंगो लगाउने बताएको छ।