Friday, May 22News That Matters

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो

पूर्णपुष्टि, असार २३

जनावरहरुबाट मानिसमा सर्ने रोगहरु बढ्दो क्रममा रहेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने जनावरबाट मानिसमा सर्ने रोगहरु अझै बढ्ने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका हुन् ।

अहिले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ पनि जनावरबाट मानिसमा सरेको उनीहरुको तर्क छ । कोभिड १९ जस्तो रोगको उदय हुनुमा मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन् ।

पशुजन्य प्रोटिनको माग अधिक हुनु, दिगो कृषि नअपनाइनु तथा जलवायु परिवर्तनका कारण यस्ता रोगहरु बढेको विज्ञहरुले बताएका छन् । जूनोटिक डिजिजका कारण एक वर्षमा विश्वमा २० लाख मानिसको ज्यान जाने गरेको  छ ।  कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन् ।

यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इनटरनेश्नल लाइभस्टक रिसर्च इन्स्टिच्युडले गरेको अनुसन्धान प्रतिवेदनमा जनावरमा देखिएका रोगहरु आफैं मानिसमा भने नसर्ने उल्लेख छ ।

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षय हुने मानवीय गतिविधिलाई कारक ठानेको छ । उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ ।

राष्ट्र सङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनका अनुसार बितेको एक शताब्दीमा कम्तीमा छ वटा नयाँ प्रजातिका कोरोना भाइरसको महामारी देखेको र त्यो जुनोटिक डिजिज भएको छ ।

प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे उल्लेख गरेको छ । तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी रहेका छन् ।