
पूर्णपुष्टि, जेठ २८ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
जबर्जस्ती करणी अभियोगमा फरार भएका सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साहले गत शनिबार प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ । साहमाथि नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।
गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ । पीडित महिलाले श्रीमान् नभएको मौका पारेर राति कोठामा आएर आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै साहविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनि फरार भएका थिए । आत्मसमर्पण गरेका साहको बिषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
