
पूर्णपुष्टि, जेठ २८ । नेकपा एमाले कटारी नगरपालिका कमिटिको अध्यक्षमा नेत्रबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आईतबार नेकपा एमाले कटारीको दोस्रो नगर अधिवेसनको बन्द सत्रबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
अधिवेसनले नेत्रबहादुर श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा शुसिला राउत कार्की , सचिवमा राजकुमार थापा क्षेत्री ,उपसचिवमा तेजबहादुर आले मगर र महिला उपसचिवमा तारा ब्लोन तामाङ्ग चयन भएकी छिन् । यस अघि नै ७० जना सदस्यहरु सर्वसम्मत चयन भईसकेका थिए । तीनदिन देखि जारी वन्द सत्रले समिति चयन गर्न नसकेपछी निर्वाचनको मिति तोकिएको थियो । निर्वाचन मण्डलले आईतबार विहान ७ बजे निर्वाचन गर्ने गरी उमेद्वारहरुको अन्तिम नामावली समेत प्रकाशन गरेको थियो ।
जसमा अध्यक्षका लागी नेत्रबहादुर खड्का सहित जिवनाथ दाहाल र मोहनबहादुर खड्काको उम्मेदवारी रहेको थियो भने उपाध्यक्षका लागी शुसिला राउत कार्की सहित अम्बरबहादुर तामाङ्ग, क्षेत्रबहादुर खड्का, शोभाकुमारी कार्की र मदनबहादुर वस्नेत उम्मेदवारी रहेको थियो । त्यस्तै सचिवमा राजकुमार थापा क्षेत्री चार जना र उप–सचिवमा पूरुष ३ र महिला ३ गरी ६ जनाको उम्मेदवारी रहेको थियो । निर्वाचन तालिका सार्वजनिक गरेपनि निर्वाचन मण्डलले तोकेको समयमा निर्वाचन गर्न सकेको थिएन् । निर्वाचनमा लोकतान्त्रिक विधि पदाधिकारी चयन गर्ने तयारी गरेको एमालेले अन्तत पुनः सर्वसम्मतमै पुगेको हो ।
